संसद विघटन पश्चात उत्पन्न अन्यौलका बिच निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथ िस्थत आफ्नै कार्यालयमा बोलाएको जनाईएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिएका छन् ।
आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएर निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिन भनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । कोरोना संक्रमणको महामारीको बेला निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले आलोचना गर्दै आएका छन् ।




