नागरिकहरुले तिरेको कर सदुपयोगताको आधिकारिकता पुष्टि गर्न पोखरा महानगरपालिका समक्ष जागौँ नेपाल राष्ट्रिय अभियानका अभियान्ताहरुले चुनौती पेश गरेका छन् । नगरप्रमुख मान बहादुर जिसीलाई ध्यानाकर्षण पत्र बुझाएर कर सदुपयोग र आफ्ना निर्णयहरु नागरिक हितअुनकुलताको औचित्य पुष्टि गर्न उनिहरुले चुनौती दिएका हुन् ।
पछिल्लो पटक पार्किङ शुल्कका सम्बन्धमा पोखरा महानगरपालिकाको नेतृत्वले गरेको निर्णय प्रति अभियान्ताहरुले चर्को असन्तुष्टि जनाएका छन् । सो निर्णयको विरोधका खातिर उनिहरुले मंगलबार पोखराको पृथ्वीचोकदेखी सभागृह हुदै नयाँसडक स्थित महानगरको कार्यालयसम्म विरोध र्याली सहितको कार्यक्रम गरे ।
सो क्रममा उनिहरुले नगरप्रमुख मान बहादुर जिसीको कार्यशैली पोखराका लागि विकासोन्मुख नभई विनाशोन्मुख देखिएको टिप्पणी गरे । महानगरमा जनप्रतिनिधिहरु आइसकेपछि श्रृखलावद्ध भ्रष्टाचारजन्य गतिविधिहरु भैरहेका उनिहरुले आरोप लगाए । पछिल्लो पटकको पार्किङ शुल्क उठाउने विषय पनि यहि श्रृखलाको निरन्तरता भएको उनिहरुले ठोकुवा गरे ।
मुलुक कै ठुलो महानगरपालिकाका प्रमुख जिसिले आफ्नो नेतृत्वदायी भुमिका र वौद्धिक क्षमताको उपयोग कुन कार्यमा गरिरहेका छन् भन्ने विषय उनको नेतृत्वमा रहेको महानगरको अस्तव्यस्तताले प्रष्ट पारेको अभियान्ताहरुले उल्लेख गरे । अभियानका सहसंयोजक शिवराज बस्ताकोटी भन्छन्, “जिसिलाई महानगरको नेतृत्व सुम्पिएर हामीले उनको व्यापारीक मनोवृत्तिको उपजका रुपमा हालको नियति त भोगिरहेका छैनौँ ।”
करोडौ रुपैयाँको प्रभावमा परेर महानगरपालिका यस्तो प्रकारको निर्णयमा पुगेको हुन सक्ने अभियान्ताहरुले बताए । अभियानका केन्द्रिय संयोजक दिपक आचार्य भन्छन्, “पोखरा महानगरपालिकाले यसअघि नै १३ करोडको हिषाव किताव गोलमटोल पारेर नागरिकसंग कनै पनि प्रकारको कर असुलिको नैतिकता गुमाईसकेको छ । र, नेतृत्वले कुर्सिमा बस्ने नैतिककता पनि गुमाईसकेको छ ।”
पोखरा महानगरपालिकाले सोमबार मात्रै फेवा सावित्री जेभिसंगको सम्झौता अनुसार प्रतिघण्टा पार्किङ शुल्कको अवधारणामा नयाँ शुल्क निर्धारण सहितको विवरण सार्वजनिक गरेको छ । जसमा मिनि तथा माईक्रो बसका लागि न्युनतम २० देखी ३० रुपैयाँसम्म, कार जिप र भ्यानको प्रति घण्टा १५,२० र २५ रुपैयाँसम्म, बस ट्रकको प्रति घण्टा ३० देखी ५० रुपैयाँसम्म र मोटरसाईकल तथा स्कुटरका लागि १० रुपैयाँ तोकिएको छ ।
अभियान्ताहरुले आजदेखी दैनिक एक घण्टा महानगरको गेट अगाडी अनिश्चितकालिन धर्ना कार्यक्रम गर्ने बताएका छन् ।




