कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको परिक्षा राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको भौतिक उपस्थिति मै लिएको हो ।
बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टा तोकिएको छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।
सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।




