इनोभेसन इन एजुकेसन (इसीइसी) को प्राविधिक सहयोगमा महानगर क्षेत्रका विभिन्न विद्यालयहरूमा सञ्चालित ईसीडीदेखि आधारभूत तहसम्मको शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रमको प्रभावकारिता बढ्दै गएको पाइएको छ । महानगर क्षेत्रका विभिन्न १२ वटा विद्यालयमा सञ्चालित उक्त कार्यक्रमको प्रभाव शिक्षण सिकाई र उपलब्धिका हिसाबले प्रभावकारी पाइएको हो ।

इसीइसीले विगत तिन वर्षदेखि शिक्षकको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिका लागि नेतृत्व विकास, अन्तर्राष्ट्रिय बाल विकास सहजकर्ता प्रशिक्षण तथा शैक्षिक सुधारका लागि निरन्तर अनुगमन, परामर्श तथा सहायता लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

परियोजनाले आगामी वर्षमा सञ्चालन गर्ने कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ । सन् २०२६ मा नेतृत्व विकास तालिम, कक्षा १ देखि ६ सम्मको पठन सुधार, ईसीडीदेखि कक्षा ३ सम्मका शिक्षक तथा सहजकर्ताहरूलाई पुर्नताजकी तालिम, कक्षा १ देखि ६ सम्म शिक्षण सहजिकरणका लागि आवश्यक प्राविधिक सहायता, आवश्यकताका आधारमा थप कार्यक्रमहरू, ईसीडीदेखि कक्षा ३ सम्मको पाठ्यक्रम तथा लेसन प्लानसम्बन्धी कार्यशाला, आइसिटी टिचर ट्रेनिङ, एसएमसि टक, अभिभावक गोष्ठी, नीति निर्माण सम्बन्धी छलफल कार्यक्रम सञ्चालन हुनेछ ।

यस्तै परियोजना लागु भइरहेको विद्यालयका शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम, आइसिडिपी हेरचाह तालिम, अङ्ग्रेजी फोनेक्स तालिम, कक्षा ६ देखि ८ सम्म भाषा तालिम र गणित तथा विज्ञान विषयहरूमा आवश्यक सुधारका कार्यक्रमहरू सञ्चालन गरिने इसीइसीका अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमीले बताउनुभयो । यसअघि कक्षा ६ देखी ८ सम्मका शिक्षकहरूको क्षमता अभिवृद्धिको लागि गणित र विज्ञान विषयको विषयगत तालिम सञ्चालन, नेपाली फोनेक्स, अङ्ग्रेजी फोनेक्स, अभिभावक अभिमुखीकरण सेमिनार, व्यवहार व्यवस्थापन कार्यशाला, प्रारम्भिक बालबिकास देखि कक्षा ३ सम्म कक्षा भित्रको सहयोग तथा आवश्यकता अनुसार कार्यशाला सञ्चालन गरिएको थियो ।

पोखरा महानगर क्षेत्रका विभिन्न क्लष्टरका १२ वटा विद्यालयमा २०७९ देखि यो कार्यक्रम शैक्षिक सुधार परियोजनाका रूपमा सञ्चालनमा छ । सन् २००१ मा स्थापना भएको उक्त संस्थाले देशभर विभिन्न सरकारी तथा निजी विद्यालयसँग सहकार्य गरी शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्दै आइरहेको ल्होमीले बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परियोजना सञ्चालन भएको विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो । महानगरको शिक्षा समितिका पदाधिकारीहरूले  शैक्षिक सुधारको प्रारम्भिक चरणमा परियोजना निकै प्रभावकारी देखिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार