सुवास अम्गाई/पोखरा
खेल क्षेत्र विद्यार्थी र युवासँग जोडिएको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय सुशीला सिम्खडाले बताउनुभएको छ । सात सय कोल्मा बाहाकोट क्रसकन्ट्री दौड प्रतियोगिताको अवसरमा आफ्नो भनाई राख्नुहुँदै मन्त्री सिम्खडाले भन्नुभयो–खेल खेल्न सजिलो छैन, खेल क्षेत्रबाट आफू र आफ्नो गाउँलाई चिनाउने खेलाडीहरूलाई राज्यले हेर्छ हेरिरहेको छ र सम्मान पनि गर्छ । खेल एक क्षेत्रमा मात्र सीमित नभएर गाउँबाट सहर हुँदै टोलबाट राज्यको केन्द्र र अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्नुपर्नेमा उहाँको जोड थियो ।
लोटस ट्रेनिङ इन्स्टिच्यूटले यस प्रकारको खेल कार्यक्रम राखेर युवाहरूको क्षमता र विकासमा योगदान गरेको बताउँदै युवाहरूको इच्छाशक्तिलाई प्रयोग गर्न राज्य देखी अभिभावकले समेत साथ र सहयोग हुनुपर्ने बताउनुभयो । युवाहरूलाई खेलमा रुचि बनाउनको लागि प्रदेश सरकारले विभिन्न कार्यविधि बनाएको र कार्यान्वयनकै चरणमा रहेको बताउनुभयो । खेल भनेको केबल उपाधि जित्न मात्र नभएर स्वस्थ जीवनका लागी पनि आवश्यक भएकाले यसको विकासमा मन्त्रालयले लगानी गर्दै आएको उहाँको दाबी थियो ।




