सुबास अम्गाइ/गाेरखा
गोरखाको सहिद लखन गाउँपालिका वडा नं. २ ढाँडवारिमा मनकामना मगर सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । शुक्रवार गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण प्रसाद धितालले होमस्टेको उद्घाटन गर्नुहुँदै होमस्टेले पर्यटन र कृषिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ढाँडवारि र मनकामना क्षेत्रमा कृषि र पर्यटनको प्रचुर सम्भावना भएकाले होमस्टेसंगै कृषिका विविध क्षेत्रमा सामूहिक काम गर्न आग्रह गर्नुभयो । मनकामना सुन्तला, फूल र बाख्रा पालनको लागी उपयुक्त क्षेत्र भएकाले कृषिमा ध्यान दिँदै होमस्टेमा सञ्चालनमा समेत स्थानीय उत्पादनमा प्रयोग गर्न सुझाव दिनुभयो । होम स्टेको सञ्चालनमा अतिथि संस्कार, खानपान, भौगोलिक अवस्थाले प्रभाव पार्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन होम स्टे सञ्चालकहरूलाई आग्रह गर्नुभयो ।
सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले पालिकाको यो चौथो होम स्टे रहेको बताउँदै यसको प्रवर्द्धन र प्रचारप्रसारमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । पालिकामा सञ्चालन हुन लागेका होमस्टेहरुलाई रोटरी क्लबले सहयोग गर्ने प्रतिबद्धता जनाएकाले बाँकी २ होम स्टे छिटै सञ्चालनमा आउने उहाँले बताउनुभयो । होम स्टे भनेको बस्न खान मात्र नभई कला संस्कृतिको संरक्षणका लागी पनि सामुदायिक होमस्टे आवश्यकता रहेको उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले होमस्टेमा स्थानीय उत्पादन प्रयोग गर्न सुझाव दिनुभयो । समुदायमा एकता भयो भने सञ्चालन गर्न कुनै कठिनाइ नहुने उहाँको धारणा थियो । सहिद लखन गाउँपालिका वडा नं. २ की वडा अध्यक्ष सकुन थापा मगरले सहिद लखन गाउँपालिका भित्रकै उत्कृष्ट होम स्टे बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । सहिद लखन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले सम्भावना बोकेको ठाउँ भएकाले होमस्टेसङै कृषि र पर्यटनलाई पनि जोड्न आग्रह गर्नुभयो । यसको प्रचारप्रसार गरी होम स्टेको प्रवर्द्धन गर्न र आर्थिक उपार्जनको लागी लाग्न आग्रह गर्नुभयो ।
साना किसान कृषि सहकारीका अध्यक्ष कृष्ण बाबु श्रेष्ठले १० वर्ष अगाडीको परिकल्पना अहिले आएर साकार भएको बताउनुभयो । धेरै बाधा अड्चनका बावजुत १० घरमा होमस्टे सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । उहाँले होमस्टे सञ्चालन गर्न निकै कठिन हुने बताउँदै यस प्रकारका काममा सञ्चालन गर्ने ठाउँको भौगोलिक अवस्था, सञ्चालन गर्ने समुदाय र यसको संस्कार र सत्कारले धेरै प्रभाव पार्ने बताउनुभयो ।
उद्योग वाणिज्य मनकामना इकाई अध्यक्ष हरि कुमार श्रेष्ठले यो ढाडँबारी गाउँ बत्तीमुनिको अँध्यारो जस्तो भएको बताउनुभएको छ । मनकामनामा दैनिक लाखौँ भक्तजन आउने जाने तर ढाँडवारिको बारेमा र यहाँको कला संस्कृतीकोबारेमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताउनुभयो । अब यो होमस्टेले यस ठाउँको विकास र समृद्धिमा ठुलो भूमिका खेल्ने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा शिव सुबेदीले होमस्टे सञ्चालनमा तालिमको आवश्यकता हुने हुँदा पालिका र प्रदेश स्तरबाट तालिमको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
कार्यक्रम समापन गर्दै मनकामना मगर सामुदायिक होमस्टेका अध्यक्ष शिव रानाले हाल होमस्टेमा ४२ जना पाहुना राख्न सक्ने क्षमता भएको बताउनुभयो । सबैको सल्लाह र सहयोगले होमस्टे सञ्चालन गरिएकाले पालिका देखी प्रदेशसम्म सहयोगको अपेक्षा गर्नुभयो ।




