नेपाल टी–२० लिगको व्यापारिक र रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान) र विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता त्रुटिपूर्ण रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को छानबिन समितिले निष्कर्ष निकालेको छ ।
९–२७ पुसमा आयोजित नेपाल टी–२० लिग अत्यधिक विवादमा तानिएपछि २० पुसमा राखेपले कार्यकारी समिति सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा बोर्ड सदस्य प्रकाश कुसारी, खेलकुद विकास विभागका अधिकृत सरोजकुमार पोखरेल, खेल विज्ञ सुवास बिसी र प्रशासकीय अधिकृत भोजानन्द राई थिए ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताको मुख्य साझेदार जिम्मेवारीबिहीन भएपछि सेभेन थ्री सँगको सम्झौता रद्ध गर्ने प्रक्रिया सुरु गर्ने बताएका थिए ।
क्यानले गत फागुन १४ र १५ गते धनगढीमा भएको साधारणसभाबाट पारित गरी सेभेन थ्रीसँग व्यापारिक र रणनीतिक साझेदारी सम्झौता गरेको बताएको छ । ८ वर्षका लागि भएको सम्झौतामा क्यानले पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ पाउने उल्लेख छ । तर, प्रतियोगिता सकिएको दुई साता हुन लाग्दा क्यानले अहिलेसम्म २ करोड २० लाख रुपैयाँमात्र पाएको छ ।
म्याच फिक्सिङ/स्पट फिक्सिङ प्रकरणमाथि नेपाल पुलिसको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेका कारण राखेपको छानबिन समितिले त्यसमा खास प्राथमिकता दिएको छैन । त्यसबाहेक श्रम स्वीकृति, पारिश्रमिक र क्यानले प्रतियोगिताका लागि तेस्रो पक्षसँग गरेका सम्झौताबारे गहन अनुसन्धान गरिएको दाबी ती सदस्यले गरेका छन् ।
समितिले छानबिनका क्रममा सबै फ्रेञ्चाइज टिमले खेलाडीको पारिश्रमिक ६० प्रतिशतभन्दा बढी भुक्तानी गरिसकेको पाइएको जनाएको छ ।



