नेपालमा औलो रोगका बिरामीहरुको संख्या ३६४ रहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्थानिय र आयातित गरि ३६४ जना औलोका बिरामीहरु उपचारमा छन् ।
उनिहरु मध्ये सवैभन्दा धेरै सुदुरपश्चिम प्रदेशमा २१० जना रहेका छन् भने सवैभन्दा कम प्रदेश नं. १ मा ३ जना रहेका छन् । यस्तै मधेश प्रदेशमा १३ जना, बाग्मतिमा ५ जना, गण्डकीमा १२ जना, लुम्बिनीमा ८३ जना र कर्णालीमा ३५ जना औलोका बिरामीहरु उपचारमा छन् ।

आर्थीक वर्ष २०७५–०७६ मा २९ जना, २०७६–७७ मा २३ जना औलोका बिरामी रहेको गण्डकीमा हाल १२ जना सक्रिय बिरामी रहेका छन् । ति मध्ये १ जना १०–१४ वर्षकी बालिका रहेकी छिन् भने ११ जना १५ वर्ष माथी उमेरका रहेका छन् । कास्कीका ४ जना, नवलपुर र स्याङ्जाका ३–३ जना तथा लमजुङ र तनहुँका १–१ जनामा औलो देखिएको हो ।
औलो सुक्ष्मस्तरीकरण २०२१ को अध्यया अनुसार नेपालका करिब ७७ हजार ६८० मानिसहरु औलोको उच्च जोखिममा रहेका छन् भने ४ लाख २८ हजार बढि मध्यम जोखिममा छन् । यस्तै १ करोड १३ लाख ९६ हजार बढि मानिसहरु यसको कम जोखिममा रहेका तथ्याङ्कले देखाएको छ ।

सन २०२५ सम्ममा नेपालबाट औलो निवारण गर्ने परिकल्पनाका साथ काम भैरहेको भएपनि परिक्षण दर कम भएको प्रति स्वयम स्वास्थ्य अधिकारीहरु नै चिन्तित छन् । भौगोलिक विविधता र असहजता, जनशक्ति र आवश्यक बजेटको प्रबन्ध तथा जनचेचताको अभाव लगायत थुप्रै कारणले यसको परिक्षण दर बढ्न नसकेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिम बहादुर खड्काले जानकारी दिए ।

नेपाल औलो रणनीतिक योजना २०१४–२०२५ को लक्ष्य अनुसार यहि वर्ष भित्र स्थानिय औलोलाई शुन्यमा पुर्याउने भनिएको छ । निर्देशक खड्काका अनुसार उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा पनि औलो देखिनु, किटनाशक झुल आदिको व्यवस्थापनमा कठिनाई, स्वास्थ्यकर्मीको प्राथामिकतामा नपर्नु, निजि स्वास्थ्य सस्थाहरुले चासो नदिनु लगायतका चुनौतीहरु रहेका छन् ।

सोमबार विश्व औलो दिवस “औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ” भन्ने नाराका साथ स्वास्थ्य निर्देशनालय गण्डकीको आयोजना तथा सेभ दि चिल्ड्रेको प्राविधिक सहयोगमा अन्तरक्रियात्मक कार्यक्रम गरि मनाईएको छ ।

यो सङ्क्रमित पोथी एनफिलिज लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ । औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् भने यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना समेत हुन्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ । औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्छ ।

सन् २०२० मा विश्वका ८५ देशमा करिब २ करोड ४१ लाख मलेरियाका नयाँ बिरामीहरु फेला परेका विश्व स्वास्थ्य संगठनले जनाएको छ । औलोका कारण विश्वभर ६ करोड २७ लाख मानिसहरुको मृत्यु भएको छ । ति मध्ये दुई तिहाइभन्दा बढी डब्ल्यूएचओ अफ्रिकी क्षेत्रमा बस्ने ५ वर्ष मुनिका बालबालिकाहरू थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार