दमौली बजारस्थित भोलेटार चोकको एउटा पसलमा भीषण आगलागी भएको छ। ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। जिल्ला प्रहरी तनहुँका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ।
अहिले प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका छन् । आगो नियन्त्रणका लागि एउटा दमकल र चारवटा पानी ट्यांकरको प्रयोग गरिएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।



