सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारण लाइन करिब ३ वर्ष ढिला गरी सञ्चालनमा आएको हो ।

नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ ।

सोलु करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत तिङ्लामा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । अब तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार