सरोकारवालाहरुले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीलाई फागुनदेखि विद्यालय खोल्नुपर्ने सुझाव दिएका छन् ।
सीसीएमसीले शुक्रबार सरोकारवाला निकायलाई विद्यालय सञ्चालन गर्नेरनगर्ने सम्बन्धी राय लिने क्रममा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।
‘आज सीसीएमसीसीले के गर्दा उपयुक्त हुन्छ भनेर राय लिएको छ । अब त्यही आधारमा निर्णय लिन्छ होला । अधिकांशबाट विद्यालय खोल्नुपर्छ भन्ने सुझाव आएको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने ।
डीसीसीएमसीको समन्वयमा स्थानीयले विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय गर्न अधिकार दिनुपर्ने कुरा भएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भन्डारीले बताए । उनले भने, ‘विद्यालय खोल्नुपर्छ भन्ने एक मत हो । र अब विद्यालय सञ्चालनको विषयमा डीसीसीएमसीको समन्वयमा स्थानीय तहले विद्यालय बन्द गर्ने अथवा सञ्चालन गर्ने जिम्मेवारी दिनुपर्छ भन्ने अधिकांशको सुझाव थियो ।’
७० प्रतिशत विद्यार्थीलाई खोप लगाइएको र लामो समयसम्म बालबालिकालाई विद्यालय बाहिर राख्नुहुँदैन भनेर माघ अन्तिमसम्म तयारी गरेर फागुनदेखि विद्यालय खोल्नुपर्ने सुझाव दिएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए ।
शुक्रबार भएको छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, संघीय मामिला मन्त्रालयका प्रतिनिधि, अभिभावक महासंघका, प्याब्सन, एन प्याब्सन, गाउँपालिका महासंघका अध्यक्षहरु सहभागी थिए ।




