कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप २ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माका अनुसार पछिल्लो २४ घण्टामा उपचारमा रहेका २ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा महानगरपालिका वडा नं. ३३ की ५९ वर्षीय महिला र पोखरा महानगरपालिका वडा नं. ९ का ६४ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या १४३५ पुगको छ ।
यसैबिच बिहिबार गण्डकीमा गरिएको कुल परिक्षणको ६७.९६ प्रतिशत नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा १०५५ नमुना परिक्षण गरिएकामा यसको ६७.९६ अर्थात ७१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।




