सडक विभाग काठमाडौंको चक्रपथको कलंकी-महाराजगञ्ज- धोबिखोला खण्डको विस्तारको काम अघि बढाउन आतुर छ । तर, अहिलेसम्म आयोजनाको डिजाइनसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने विभागको हातमा आइपुगेको छैन ।
चक्रपथलाई ८ लेनमा विस्तारको जिम्मा लिएको चीन सरकारले नै आयोजनाको डीपीआर तयार गर्ने भनिएको छ । तर चीनले अहिलेसम्म विभागलाई डीपीआरको प्रति नै पठाएको छैन

चीनले डीपीआर तयार गरिसके पनि आफूहरुसँग ‘सेयर’ नगरेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापा बताउँछन् ।
पछिल्ला दिनमा सडक सुरक्षा विज्ञ, साइकल प्रवर्द्धनका अभियन्ता, नागरिक समाज र सर्वसाधारणले विस्तारको तयारी अघि बढ्दा पनि सडकको डिजाइन सार्वजनिक नभएको भन्दै आलोचना गरिरहेका छन् । चक्रपथको कलंकी-सातदोबाटो-कोटेश्वर खण्डजस्तै त्रुटिपूर्ण र अव्यवहारिक रुपमा दोस्रो खण्ड पनि विस्तार गरिने आशंका उनीहरूलाई छ ।
विभागका महानिर्देशक थापा चीनले चिनियाँ भाषामा तयार पारेको डीपीआर अंग्रेजीमा अनुवाद गरेर पठाउने आश्वासन दिएको बताउँछन् । अहिलेसम्म विभागले चीनले कसरी डीपीआर तयार गर्यो भनेर जानकारी नपाएको उनको भनाइ छ ।



