नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटा (अब्दुल)ले सरकारका सकारात्मक कार्यहरुको समर्थन र गलत कामहरुको विरोध गर्दै अगाडी बढ्ने बताएका छन् । प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले केपी शर्मा ओलीको बर्हिगमन पछि बनेको गठबन्धन सरकारले केही अनुचित कार्य गरेको भन्दै आलोचना समेत गरे ।
सरकारले ल्याएको दल फुटाउने अध्यादेश र एमसिसीका विषयमा भइरहेका षडयन्त्रहरु प्रति आफुहरु शंसकित रहेको अब्दुलले बताए । उनले मुलुकको राष्ट्रिय अखण्डता, स्वाधिनता, सार्वभौम सत्ता र संविधानलाई बन्दकी राखेर अनुदान र सहयोग लिने विषय स्विकार्य नहुने चेतावनी दिए । संसदमा एमालेले देखाएको गतिविधिको उनले चर्को आलोचना गरे ।
संयोजक देवकोटाले फेवाताल मिचेर खानेहरुलाई चैनसँग सुत्न नदिने चेतावनी पनि दिए । प्राकृतिक सम्पदा हडप्ने, मिच्ने, कब्जा गर्ने अपराधीहरुलाई वाईसिएलले सडकमा ल्योउने चेतावनी दिए । उनले फेवाताल मात्र नभई राज्यको सम्पती दोहन गर्ने सबै खालका सामाजिक अपराधीहरुलाई नछाड्ने बताए । संयोजक देवकोटाले वाईसिएलले पालिकाहरुमा भएको भ्रष्टाचारको खोजी गरेर सार्वजनिक गर्ने पनि बताए ।
वाईसिएलले युवा दस्ताको निर्माण गरि उद्यमशिलतासंग जोडेर रोजगार तथा स्वरोजगार बनाउँदै देशलाई समृद्धि र विकासको बाटोमा डोहो¥याउन भूमिका खेल्ने बताए । प्रत्येक निर्वाचन क्षेत्रमा स्वयम्सेवक दस्ता, प्रत्येक पालिका र प्रत्येक वडामा स्पेसल टास्क फोर्स बनाउने जानकारी दिए ।




