गिद्ध संरक्षण लागि स्थानीय समुदायको जनचेतना र क्षमता अभिवृद्धि गर्नुपर्नेमा गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दिपक थापाले जोड दिएका छन् । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवस २०२१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री थापाले गिद्ध संरक्षणका लागि सुरक्षित क्षेत्रहरुको स्थापना गरी खानाको व्यवस्थापन गर्नुपर्ने समेत बताए ।
मानविय कमजोरीका कारण गिद्धका विभिन्न प्रजातिहरु लोपोन्मुख अवस्थामा पुगेको भन्दै मन्त्री थापाले अहिले कोरोना भाइरसको संक्रमणका कारण प्रकृति संरक्षणको क्षेत्रमा कम ध्यान पुगेको प्रति सचेत गराएका छन् ।
मन्त्री थापाको शुभकामनामा भनिएको छ, ‘यदि अहिले नै प्रकृति र प्रकृतिको एउटा महत्वपूर्ण अंगको रुपमा गिद्धलाई संरक्षण गर्न सकिएन भने भविष्यमा कोभिड–१९ भन्दा झन् भयानक रोगले मानव जातिलाई नै संकटमा नपु¥याउला भन्न सकिँदैन । विषादीको प्रयोगमा कमी ल्याई गाईवस्तुलाई खुवाउने डाइलोफेनेक औषधीलाई प्रतिवन्ध लगाएको भएपनि अझै यसको प्रयोग हुन छोडेको छैन । नियमित अनुगमन र वैकल्पिक औषधिको खोजी मार्फत गिद्ध संरक्षण गर्नमा म सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछु ।’
गण्डकी प्रदेश जैविक विविधताका लागि धनी भएको र गिद्ध महत्वपूर्ण तर लोपोन्मुख प्रजाति भएको हुँदा यस प्रजातिको संरक्षण गर्न गण्डकी प्रदेश सरकार पूर्णरुपमा प्रतिवद्ध रहेको मन्त्री थापाले उल्लेख गरेका छन् । यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको ‘राष्ट्रिय सचेतना दिवस’ बाट बिकसित भई सन् २००९ मा अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार