श्रवण अपाङ्गता भएका बहिरा बालबालिकाहरुका लागि तयार गरिएको डिजिटल सांकेतिक पाठ्य सामाग्री एक कार्यक्रममका बिच हस्तान्तरण गरिएको छ ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग, शिक्षा तालिम केन्द्र तनहुँको सयोजन तथा सिर्जना बहिरा आवासीय मावि पोखराको समन्वयमा निर्माण गरिएको सो सामाग्री मन्त्री कुमार खड्काको उपस्थितीमा तालिम केन्द्रका प्रमुख नेपालहरी रानाभाटलाई हस्तान्तरण गरिएको हो ।
प्रदेश सरकारको १० लाख लागतमा सिर्जना बहिरा विद्यालयले बहिरा विद्यार्थीहरुका लागि कक्षा १ को सवै विषयहरु (मेरो नेपाली, गणित, अंग्रेजी र हाम्रो सेरोफेरो) विषयलाई डिजिटलाइज्ड अर्थात प्रविधिमैत्री बनाईएको छ । यसले शिक्षामा प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने र शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई समेत शिक्षण सिकाईमा प्रत्यक्ष लाभ मिल्ने विश्वास गरिएको छ ।

सो कार्यक्रममा बोल्दै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले सांकेतिक भाषाको संरक्षण, विकास र प्रवद्र्धनमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । संविधानमा मौलिक हकको रुपमा सांकेतिक भाषा मार्फत कानुन बमोजिम निशुल्क शिक्षाको व्यवस्था गरिएको जनाउदै उनले यसतर्फ आफ्नो अधिकार उपभोग गर्ने सवालमा थप चनाखो बन्न पनि सुझाए । यस्ता प्रकारका कार्यक्रमहरुलाई निरन्तरताको दिईने उनले बताए ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव बिनोद बहादुर कुवंरले श्रवण अपांगता भएका बहिरा बालबालिकाहरुको सिकाईका खातिर एक गतिलो सुरुवात भएको बताए । यसको उपयोग मार्फत बालबालिकाको शिक्षामा महत्वपुर्ण उपलब्धिको अपेक्षा गर्न सकिने उनले बताए । उनले गण्डकी प्रदेशलाई सडक मानवमुक्त बनाउने र सामाजिक विकास तमाम विषयहरुमा समयसापेक्ष सुधारका कार्य गर्ने योजनाहरु बनाईएको बताए ।


शिक्षा तालिम केन्द्र तनहुँका प्रमुख नेपालहरी रानाभाटले देशभरीका बहिरा विद्यार्थीहरुका लागि सांकेतिक डिजिटल सामाग्रीको तयार गरि गण्डकी प्रदेशबाट राम्रो सुरुवात गरिएको बताए । उनका अनुसार अतिजम प्रभावित बालकालिकाहरुका लागि बालजागृति विद्यालयसंग वौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि सिकाई सामाग्री तयार गर्न १५ लाख ५० हजार, दृष्टिविहिन बालबालिकाहरुका लागि सिकाई सामाग्री तयार गर्न अमरसिंह माविलाई ३३ लाख र बहिरा बालबालिकाहरुका लागि सिर्जना बहिरा विद्यालयलाई १० लाख रुपैयाँमा प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सिर्जना बहिरा आवासीय मावि व्यवस्थापन समितिका अध्यक्ष ऋषीराम पौडेलले बहिरा बालबालिकाहरुका लागि नेपाल मै पहिलो पटक आफुहरुले डिजिटल सामाग्री निमार्ण गरि बालबालिकाहरुको पठनपाठनमा नयाँ प्रयोगको चरणमा रहेको बताए ।

कार्यक्रममा सिर्जना बहिरा माविको तर्फबाट शिक्षक, प्राविधिक तथा निर्देशक समितिका सदस्य सुनिल कुमार भण्डारी र बौद्धिक अपांगता भएका बालबालिकाको क्षेत्रमा काम गरेरहेको संस्था अटिजम केयर सेन्टरकी प्रशिक्षक सम्झाना पराजुलिले सहजिकरण गरेका थिए ।



