पोखरा महानगरपालिका वडा नं.९ ले आफ्नो वडामा क्रियाशिल सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई अक्सिमिटर प्रदान गरेको छ । अक्सिमिटर मानिसको शरीरिमा अक्सिजनको मात्रा थाहा पाउन प्रयोग गरिने सानो आकारको मेसिन हो ।
पछिल्लो पटक विश्व महामारीका रुपमा फैलिरेहको कोरोना भाइरसको संक्रमणका कारण बिरामीहरुमा अक्सिजनको मात्रा कम भएको पत्तो नपाउँदा थप कमजोर हुने र ज्यानै समेत जाने अवस्था आएपछि सामान्य लक्षणहरु देखिनासाथ लिईने अक्सिमिटरको सहायताले उपचारमा सहजता प्रदान गर्ने विश्वास अध्यक्ष रामराज लामिछानेले लिएका छन् ।

वडा नं. ९ को शहरी स्वास्थ्य केन्द्रकी प्रमुख अञ्जु शर्मा कोइराला लगायतलाई अक्सिमिटर प्रदान गर्दै अध्यक्ष लामिछानेले भने, “कोरोना महामारीको बेलामा अक्सिजनको कमिले गर्दा धेरै मानिसहरुले मृत्युवरण गर्नुपरेको र कस्को अक्सिजन कति छ, भनेर निक्र्यौल गर्न नसकिरहेको अवस्थामा, १२ जना महिला स्वास्थ्य स्वयंसेविका र ४ जना स्वास्थ्य कर्मचारीहरुलाई आफ्नो कार्यक्षेत्रमा रहेका नागरिकहरुमा कुनै प्रकारको स्वास्थ्य समस्या देखिनासाथ अक्सिजन नाप्न सक्ने गरि अक्सिमिटर उपलब्ध गराएका छौँ ।”


कार्यालयमा आउनेहरुको कार्यालय मै र बाँकी स्वयंसेविकाहरुले आ–आफ्नो भेगहरुका वडावासीहरुको अक्सिजनको नाप लिने अध्यक्ष लामिछानेले बताए । उनले आफुहरु स्वास्थ्यको मामिलामा असाध्यै संवेदनशिल बनेको बताए । पछिल्लो पटक वडामा कोरोनाका नयाँ संक्रमण घट्दो क्रममा रहेको उनले बताए ।
अक्सिमिटरको सहायताले कुनै पनि बिरामीको अवस्था थाहा पाउन सकिने र थप उपचारका लागि आवश्यक सहजिकरण गर्न मद्धत पुग्ने शहरी स्वास्थ्य केन्द्र पोखरा ९ की प्रमुख अञ्जु शर्मा कोइरालाले बताईन् । वडा कार्यालयको सहयोगले आफुहरुमा जिम्मेवारी थपेको उनले बताईन् ।
वडा कार्यालयले यसअघि पनि डिजिटल विपि परिक्षण उपकरण प्रदान गरेको थियो ।



