सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिदैछन् । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकिकरण भएपछि माओवादी केन्द्रको तर्फबाट भट्ट मुख्यमन्त्री बनाईएका थिए ।
पछिल्लो पटक सर्वोच्च अदालतले प्रक्रिया नपुगेको भन्दै पार्टीहरुलाई पुरानै अवस्थामा पुर्याई दिएपछि ति पार्टीका नेताहरु बिच बढेको चर्को असन्तुष्टिको परिणाम स्वरुप प्रदेशमा जोडघटाउको खेल चलिरहेको छ । अझ नेकपा एमाले भित्रको किचलोका कारण प्रदेश सरकारहरुलाई तनावको चाप बढ्दो छ ।
प्रदेशसभामै ओली र नेपाल पक्षधर सांसदहरू अलगअलग मतका साथ प्रस्तुत हुन थालेका छन् । यस अवस्थामा हालसम्म बहुमतमा रहेको नेपाल पक्षीय सांसदहरूको दरिलो साथ पाएकाले मुख्यमन्त्री भट्टले एकाएक विश्वासको मत लिने निर्णयमा पुगेको माओवादी केन्द्रले जनाएको छ ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्ट अल्पमतमा परेका थिए । हाल सभामुखसहित ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्रका १३ सदस्य छन् । सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् ।




