कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्नका लागि जारी निषेधाज्ञालाई थप कसिलो बनाउन गृहसचिव महेश्वर न्यौपानेले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । नागरिकस्तरबाट लापरबाही बढेको भन्दै भिडभाड र मानिसको अनावश्यक हिंडडुललाई नियन्त्रण गर्न न्यौपानेले निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञा कार्यान्वयनमा कडाइका साथ प्रस्तुत हुन उनले निर्देशन दिए ।
निषेधाज्ञाका पालना नगर्नेलाई हालै जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही प्रक्रिया अघि बढाउन न्यौपानेले निर्देशन दिएको सहभागी एक अधिकारीले बताए । अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजन बाहेक सवारीसाधन चलाए कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।
मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ । हिजै न्यौपानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेर निषेधाज्ञाको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।




