कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा आज ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १२ का ५८ वर्षीय एक पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ३ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका पोखरा महानगरपालिका वडा नं. २५ का ९१ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारका क्रममा मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं. १ की ५५ वर्षीय एक महिलाको पनि उपचारका क्रममा मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको छ । यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २१५ जना पुगेको छ । पछिल्लो पटक प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण दर उच्च रहेको छ भने संक्रमितहरुको मृत्यु समेत हुन थालेको छ ।




