सातै प्रदेशभरिमा बलियो सरकारका रुपमा हेरिएको आफु नेतृत्वको सरकारका विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले त्यसलाई प्रतिगामी कदम भनेका छन् । काठमाण्डौमा रिसाएको बिरालोले पोखरामा खाँबो चिथोर्नु उचित हुन्छ ? भनि प्रश्न गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
तर, आफुले उक्त प्रस्तावको सामना गर्ने उल्लेख गर्दै उनले त्यसअघि यथेस्त मात्रामा राजनीतिक दलहरुसंग छलफल गर्ने बताए । छलफललाई थप सघन बनाउनका लागि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको उनले दावी गरे ।
यो राजनीतिक विषय भएकाले शिर्ष तहमा समेत छलफल गर्ने उनले बताए । मुख्यमन्त्री गुरुङले शिर्ष नेताहरुलाई भेट्न भोली नै काठमाण्डौ जाने तयारीमा रहेको समेत बताए । एमाले नेतृत्वको सरकारलाई जनमोर्चा र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ् नेतृत्वको सरकार धरापमा परेको छ ।
विहिबार प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविस्वासको प्रस्तावमा २८ प्रदेशसभा सदस्यहरुले हस्ताक्षर गरेका छन् ।




