नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारको विकल्पमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र जनमोर्चा मिलेर सरकार निर्माण गर्ने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा आउने अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने जनमोर्चाको निर्णयसंगै गुरुङ नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो ।
जनमोर्चाले सरकारलाई दिएको सर्मथन फिर्ता लिने र सो सरकारका विरुद्धमा आउने अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय आजै गरेको हो । प्रदेशसभामा १५ सदस्य रहेको नेपाली कांग्रेस र १२ सदस्य रहेको माओवादीका बिचमा सरकारको नेतृत्व कस्ले गर्ने भन्ने अन्यौल पनि ति पार्टीका केन्द्रिय नेताहरुले टुंग्याएका बताईएको छ ।
स्रोतका अनुसार अव बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ । मुख्यमन्त्रीमा कांग्रेस र माओवादी केन्द्र दुबैको दाबी थियो । तर कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार साँझ भएको भेटमा गण्डकीको मुख्यमन्त्रीबारे टुंगो लगाएको गण्डकी प्रदेशका एक सांसदले जानकारी दिए ।
उनका अनुसार अब एक दुई दिनमा नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना प्रदेशसभा सदस्य चाहिन्छ । मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेसँग २७ सांसद छ । दोस्रो ठूलो दल कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने माओवादी केन्द्रका १२ । माओवादीबाट निर्वाचित नेत्रनाथ अधिकारी सभामुख छन् । सरकार गठनका लागि उनले मतदान गर्ने छैनन् । राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् ।
तर जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेपछि गुरुङ नेतृत्वको सरकार ढल्ने र कांग्रेसको नेतृत्व नयाँ सरकार बन्ने निश्चित जस्तै भएको छ । अव बन्ने नयाँ सरकारमा पनि आफु भने सहभागी नभई सर्मथन गर्ने जनमोर्चाको तयारी छ ।




