गण्डकीका प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन कार्य सोचे जस्तो सजिलो नभएको बताएका छन् । फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “यो काम एकदमै जटिल काम हो, हामीले सवैभन्दा बढि वैज्ञानिक आधारहरु तय गरेर समितिलाई दिईएको कार्यादेशानुसार यो प्रतिवेदन तयार भएको छ, अव यो समितिले बाँकी काम आगामी तिन महिनामा सम्पन्न गर्नेछ ।” मुख्यमन्त्री गुरुङले फेवातालको थप संरक्षण, विकास र सौन्दर्यकरणको काम क्रमश गर्दै जाने बताए ।
फेवातालको संरक्षण र विकासका लागि सबैभन्दा पहिलो तथा अपरिहार्य कार्यका रुपमा चार किल्ला निर्धारण र नक्सांकनको काम नै भएको उल्लेख गर्दै उनले त्यो कामका लागि प्रदेश सरकारको अग्रसरता र प्रयास सफल भएको दावी पेश गरे । उनले भने, “जुन काम हामीले आज गरेका छौं, यो नै फेवाताल, पोखरा, गण्डकी प्रदेश वा यो मुलुकका लागि मात्रै नभई विश्व पर्यावरण कै क्षेत्रमा एउटा उल्लेखनीय कोसेढुंगा हो भन्न कसैले कन्जुस्याइँ गर्दैन भन्ने हामीलाई विश्वास छ ।”

तत्कालिन जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गत कात्तिकमा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको वास्तविक क्षेत्रफल र चार किल्ला निर्धारण गरि सरकारलाई प्रतिवेदन बुझाएपछि सम्बन्धित सरोकारवालाहरुले खुसि समेत व्यक्त गरेका छन् । समितिको प्रतिवेदनले फेवाताल संरक्षण र विकासको काम गर्ने ढोका खुलेको उनिहरुको विश्वास छ ।
समितिको प्रतिवेदन अनुसार फेवातालको चार किल्ला पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चङ्खपुर बीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गर्ने उल्लेख छ । यस्तै फेवातालको तल्लो तटीय क्षेत्र (ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतरा, सेदी, खपौंदी, लामीडाँडा, अनदु समेतको क्षेत्र) मा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सीमाना मान्ने र फेवातालको मुहानतर्फ मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पन खोला पारगरी भकुण्डेखोलाको अन्तिम घुम्ती नजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोई पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेटी पामे घाँटीछिना मोटरबाटोसम्म फेवातालको सीमांकन कायम गर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार फेवातालको क्षेत्रफल ५ दशमवल ७२६ वर्ग किलोमिटर (११२५५ रोपनी ११ आना १ पैसा) कायम गर्ने र यसरी कायम गर्दा फेवातालको सीमारेखाको परिधि १८ किलोमिटर हुन जानेछ ।


समितिले अव नेपाल सरकारबाट पारित भएको फेवातालको सीमाना अंकित नक्सा र वस्तुस्थिति सहित यसअघि विभिन्न निकायहरूबाट तय भएका मापदण्ड, सर्वोच्च अदालतको फैसला, प्राकृतिक न्यायको सिद्धान्त लगायत विषयवस्तुमा ध्यान दिई प्रचलित ऐन कानुन एवम् नीतिमा रही मापदण्ड तय गर्नका लागि पोखरा महानगरपालिकालाई निर्देशन गर्नेछ ।
यस्तै समितिले फेवातालभित्र परेका तथा दूषित दर्ता भएका जग्गाको लगत तयार गर्ने र त्यस्ता जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न भूमिसुधार तथा मालपोत कार्यालय कास्कीमा सिफारिस गर्ने, फेवाताल संरक्षणका लागि दीर्घकालीन योजना बनाउन र सो कार्यका लागि थप जग्गा आवश्यक पर्ने भएमा यकीन विवरण सहित प्रस्ताव तयार गरी सुझाव दिने र फेवाताल संरक्षण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय व्यवहारमा कार्यान्वयनका लागि सम्बन्धित निकायबाट गरिनुपर्ने कार्यहरुको सम्बन्धमा आवश्यक सुझाव दिनेछ ।

सो क्रममा निकै नै अप्ठ्याराहरुलाई पन्छ्याउदै आफुहरु फेवाताल संरक्षणका खातिर यसको वास्तविक अवस्थाको खोजि गर्ने कार्यमा सफल भएको संयोजक पौडेलले बताए । अव आफु नेतृत्वको समितिलाई दिएको बाँकी जिम्मेवारी पनि तोकिएको समयसिमा भित्रै सम्पन्न गर्ने उनले विश्वास दिलाएका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले पनि फेवाताल संरक्षण र विकासका लागि पोखरा महानगरपालिका प्रतिवद्ध रहेको र यससम्बन्धमा प्रदेश र संघ सरकार संगै सम्बन्धित सरोकारवालाहरुको सकारात्मक पहलमा हातेमालो गर्न तयार रहेको उनले बताए ।



