नगर क्षेत्र भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ६ मा अध्ययनरत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानका रूपमा सञ्चालन गरिएको छ ।
फाल्गुन ५ गतेसम्म कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले बताउनुभयो । उहाँका अनुसार अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि खोप लगाइने छ । अभियानमा महानगरपालिकाले १५७ जना स्वास्थ्यकर्मी र १५७ जना स्वयंसेवक परिचालन गरेको छ ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने उहाँले बताउनुभयो । कक्षा ६ मा पढ्ने किशोरीलाई विद्यालय र अन्य किशोरीलाई महानगर मातहतका खोप केन्द्रमा एचपिभी खोप लगाइने छ । अभियानका क्रममा पोखरामा २७६ विद्यालयका ४ हजार ८०६ जना कक्षा ६ मा अध्ययनरत छात्राहरू, ११० जना विद्यालय बाहिर रहेका किशोरीहरू, अघिल्लो वर्ष छुटेका ११७ जना छात्राहरू गरी ५ हजार ३३ जनालाई यो खोप लगाइने छ ।
नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको विभिन्न तथ्याङ्कहरूले देखाएको भन्दै नगर प्रमुख धनराज आचार्यले खोप अभियानमा अनिवार्य सहभागी हुन लक्षित छात्रा तथा किशोरीहरूलाई आह्वान गर्नुभयो । क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ ।
खोप शतप्रतिशत प्रभावकारी रहेकाको चिकित्सकहरूले बताएका छन् । नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको ज्यान जाने गरेको छ । तर यो क्यान्सर रोग एचपिभी खोपबाट रोक्ने सकिने चिकित्सकहरूको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार