पोखरा महानगरपालिका नगर युवा परिषद्को आयोजनामा नगर क्षेत्रमा सञ्चालित विभिन्न विद्यालयका २३ सय बढी विद्यार्थीहरूलाई डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । परिषद्का उपाध्यक्ष सन्तोष न्यौपानेका अनुसार Digital Safety, Misinformation and Disinformation, Digital Accessibliity & AI Tools लगायतका विषयहरूमा एक दिवसीय अभिमुखीकरण गरिएको हो ।

विद्यार्थीहरूमा डिजिटल प्रविधिको सही र सुरक्षित प्रयोगका लागि आवश्यक ज्ञान र सीप अभिवृद्धिका लागि यस प्रकारको कार्यक्रम गरिएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो । ‘आजको डिजिटल युगमा शिक्षा, बैङ्किङ, सरकारी सेवा, स्वास्थ्य, व्यापार र रोजगारीका धेरै गतिविधि अनलाइन माध्यममा आधारित हुँदै गएका छन्, न्यौपानेले भन्नुभयो, यसको सही प्रयोगका लागि डिजिटल साक्षरता अपरिहार्य छ ।’ यसले व्यक्तिलाई सही सूचना पहिचान गर्न, भ्रामक समाचार तथा साइबर अपराधबाट जोगिन र आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्न सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिको डिजिटल साक्षरता मार्फत कामको दक्षता र उत्पादकत्व बढाउनुका साथै सूचना तथा प्रविधिमा समान पहुँच सुनिश्चित गरी सामाजिक तथा आर्थिक समावेशितालाई प्रवर्द्धनमा जोड दिएको छ । परिषद्ले विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरी प्रशिक्षकको रूपमा विभिन्न विद्यालयहरूमा डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको हो । सो अवसरमा विद्यार्थीहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) को सही प्रयोग सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको छ ।
परिषद्ले विभिन्न समयमा युवा, उद्यमी र विद्यार्थीहरू लक्षित विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।



