नेपालको वर्तमान राजनीतिक वातावरण निरन्तर अस्थिरता, गठबन्धनका दुष्चक्र, सत्ता–हिस्सा र वैचारिक धु्रवीकरणले भरिएको छ । यस जटिल अवस्थामध्ये केपी शर्मा ओली एक अत्यन्तै शक्तिशाली, विवादित तर प्रभावशाली नेता मानिन्छन् । उनका निर्णयहरू, भाषिक शैली र व्यक्तिगत पहलकदमि नेपाली राजनीतिमा लामो समयदेखि बहसको केन्द्र बनेको छ । ओलीको राजनीतिक व्यक्तित्व ‘दृढता, जोखिम लिन सक्ने क्षमता र सत्ता–केन्द्रमा आफूलाई स्थिर रूपमा उभ्याउने’ विशेषताले परिभाषित हुन्छ । शासन–कालमा उनी निर्णय–केन्द्रित र आक्रमक देखिन्थे, प्रतिपक्षमा हुँदा तीव्र आलोचक र जनभावना परिचालन गर्ने रणनीतिकारका रुपमा उनको पहिचान देखिन्छ । यही कारण, ओली सामान्य राजनीतिज्ञभन्दा बढी एक राजनीतिक प्रवृत्तिको रूपमा चर्चित छन् । वर्तमान राजनीतिक परिस्थितिमा समग्र रूपले हेर्दा, ओली अझै राष्ट्रिय राजनीतिमा सबैभन्दा प्रभावशाली र बहसप्रद नेता हुन्, जसको उपस्थितिले बेलाबखतमा नीतिगत निर्णयदेखि शक्ति समीकरणसम्म असर पु¥याइरहेको छ ।

ओलीको चरित्रको एउटा प्रमुख पाटो विरोधीहरू प्रति देखिने कठोरता हो । उनी राजनीतिक प्रतिस्पर्धालाई सामान्य प्रतिस्पर्धा’ का रूपमा होइन, निर्णायक संघर्ष’ का रूपमा बुझ्छन् । यही कारण उनी विपक्षी दलका नेताहरूप्रति तीक्ष्ण शब्द प्रयोग, प्रत्यक्ष आरोप र कहिलेकाहीँ व्यक्तिगत टिप्पणी गर्न पनि पछि पर्दैनन् । संसद, सभा–सम्मेलन वा पार्टी बैठक—कसैप्रति मधुर व्यवहार देखाइनु उनका लागि दुर्लभ मानिन्छ। पार्टीभित्रका मतभिन्नता राख्ने व्यक्तिहरूलाई समेत उनी ‘अनुशासनहीनता’ को आरोप लगाउँदै दण्डात्मक व्यवहार गर्छन, जसका कारण नेकपा एकता अन्ततः फुटमा परिणत भयो । यी कठोर कदमहरूले ओलीलाई निर्णयशील नेता बनाए पनि उनी ‘सत्ता–केन्द्रित’ र ‘एकलवादी’ शैली अपनाउने नेताका रूपमा चित्रित भए। विरोधीहरूप्रति उनको कठोरताले समर्थकहरूबीच दृढ–नेतृत्वको छवि बनायो, तर आलोचकहरूले यसलाई लोकतान्त्रिक मान्यतामाथि चोट पुर्याउने व्यवहारका रूपमा हेरे । आजको परिस्थितिमा ओलीको कठोर चरित्रले राजनीतिलाई तिखो बनाउँदै संवाद र सहमतिको सम्भावनालाई कमजोर बनाइदिन्छ।

ओलीलाई प्रायः राजनीतिक व्यङ्ग्यका मास्टर’ भनेर पनि चिनिन्छ । उनको भाषणशैली हाँस्य–व्यङ्ग्य, कटाक्ष, प्रतीकात्मक कथा र तीक्ष्ण टिप्पणीले भरिएको हुन्छ—जसले नेपाली राजनीतिक भाषणलाई मनोरञ्जन र चर्चाको विषय बनाइदिएको छ। राजनीतिमा ‘मधेसी नेता, देउवा र प्रचण्ड, दिल्ली–बेइजिङ सन्तुलन, विकासका भिजन’—सबै कुरा उनी व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गर्छन्। यही शैलीले उनको लोकप्रियता बढायो । विशेष गरी सामाजिक सञ्जाल र डिजिटल पुस्तामा उनको संवाद ‘मिम–सामग्री’, ‘हाइलाइट्स’ र ‘क्लिप’ को रूपमा भाइरल भइरहन्छ । ओलीको व्यङ्ग्य राजनीतिक संचारको प्रभावकारी उपकरण बने पनि कहिलेकाहीँ नीति संवादभन्दा व्यक्तिगत कटाक्षमा रूपान्तरित हुन्छ, जसले राजनीतिक परिपक्वता र सभ्यतामाथि प्रश्न उठाउँछ । समर्थकहरू भन्छन्,—ओलीको व्यङ्ग्य ‘साहसिक सत्य’ होस तर, आलोचकहरू भन्छन्, यो ‘राजनीतिक अवमानना र संस्थागत मर्यादाको क्षय’ हो । तैपनि, अस्वीकार गर्न नसकिने कुरा के छ भने, व्यङ्ग्य र हाँस्य मिश्रित भाषणशैली नै ओली ब्रान्ड को केन्द्र हो, जसले उनलाई अगचचभलत उयष्तिष्अक मा निरन्तर उपस्थित बनाइरहेको छ ।

हालै विकसित भएको जेन–जेड आन्दोलनले नेपाली राजनीति आमूल रूपमा हल्लाइदियो। भ्रष्टाचार, पुरानो पुस्ताको राजनीतिक सोच, नेताहरूको गैरजिम्मेवारी, राज्य–सम्पत्तिको दुरुपयोग, र सामाजिक अन्यायविरुद्ध आवाज उठाएको यो आन्दोलनले पुरानो नेतृत्वलाई प्रत्यक्ष चुनौती दियो । ओली पनि यसबाट अछुतो रहेनन् । उनको कठोर शैली, व्यङ्ग्यात्मक संवाद, व्यक्तित्व–केन्द्रित नेतृत्व र टप–डाउन’ निर्णय प्रवृत्तिले जेन–जेड पुस्ताको मूल्य–मान्यतासँग मेल खाएन । आन्दोलनले पारदर्शिता, संस्थागत नेतृत्व, राष्ट्रिय हितमा इमानदार दृष्टिकोण र उत्तरदायी शासनको माग गर्यो । यिनै नैतिक मानकहरूको तुलनामा ओली पुरानो शैलीको प्रतिनिधि पात्र जस्तै देखिए । जेन जेड आन्दोलनको रापले उनलाई बालुवाटारबार हेलिकोप्टर चढेर सेनाको शरणमा पुग्न बाध्य बनायो । जनदबाब र राजनीतिक वातावरणको तीव्र रुपान्तरले उनलाई सत्ताबाट बाहिर धकेल्यो । निकै शक्तिशाली मानिएका उनका लागि एकाएक सत्ताच्युत हुनु राजनीतिक रुपमा सवैभन्दा ठुलो असफलता थियो । तर, ओली सत्ताको लज्जास्पद बर्हिगमन पश्चात अझ सक्रिय, आक्रामक र रणनीतिक बनिरहेका छन् । जेन–जेड आन्दोलनले नेतृत्व प्रणाली बदलिनुपर्छ’ भनेको भएपनि ओली—अझै राजनीतिक निर्णायकतामा टिकी रहेका देखिन्छन् ।

आजको नेपाली राजनीतिक परिस्थिति केपी ओली प्रवृतिको प्रतिउत्पादक हो । उनी सत्तामा हुँदा वा सत्ताबाहिर, राजनीतिक बहस, शक्ति–सम्पर्क, गठबन्धन, नीतिगत निर्णय र जनमतमा उनको प्रभाव अत्यन्त ठूलो छ । उनी कठोर नेतृत्व, तीक्ष्ण व्यङ्ग्य, द्रुत निर्णय र जोखिमपूर्ण राजनीतिक खेलाडीको शैलीका कारण समर्थकहरूका लागि ‘सबल नेता’ बनेका छन् । तर आलोचकहरूका लागि उनि ‘अनियन्त्रित शक्ति–रणनीतिकारका रुपमा परिचित छन् । जेन–जेड आन्दोलनले पुरानो संरचनालाई चुनौती दिए पनि ओलीको राजनीतिक प्रासंगिकता घटेको छैन । बरु नयाँ पुस्तासँग असमेल हुँदा पनि उनी स्थायित्व खोज्ने वर्ग’का लागि विकल्पका रूपमा अझै उभिएका छन् ।

अन्ततः, नेपाली राजनीतिमा ओली न त पूर्णतया सकारात्मक पात्र हुन् । न पूर्णतया नकारात्मक नै । बरु उनी नेपाली राजनीतिक चेतनाको एउटा विशेष प्रतिनिधि हुन् । जहाँ कठोरता, व्यङ्ग्य, शक्ति–संघर्ष र जनभावनाको उपयोग एकैसाथ हुन्छ । नेपालमा नयाँ राजनीतिक संस्कृति जन्मिन खोज्दैछ र पुरानो पुस्ताको प्रभाव कम हुँदैछ तर ओलीजस्ता नेताहरूको राजनीतिक प्रभाव अहिले पनि गहिरो छ । नेपाली राजनीति निकटकालसम्म उनीबाट प्रभावित भइरहने सम्भावना उच्च छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार