पोखरा महानगरपालिका क्षेत्रमा रहेका विभिन्न विद्यालयहरूमा सञ्चालित ईसीडीदेखि आधारभुत तहसम्म शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ । इनोभेसन इन एजुकेसन (इसीइसी) को पहलमा महानगर क्षेत्रका विभिन्न १२ वटा विद्यालयमा सञ्चालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक देखिएको समीक्षाका क्रममा पाइएको हो ।
परियोजना अन्तर्गत इसीइसीले शिक्षकको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका प्रतिनिधिका लागि नेतृत्व विकास, अन्तर्राष्ट्रिय बाल विकास सहजकर्ता प्रशिक्षण तथा शैक्षिक सुधारका लागि निरन्तर अनुगमन, परामर्श तथा सहायता लगायतका कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
यस परियोजना अन्तर्गत यस वर्ष कक्षा ६ देखी ८ सम्मका शिक्षकहरूको क्षमता अभिवृद्धिको लागि गणित र विज्ञान विषयको विषयगत तालिम सञ्चालन गरिएको छ ।  नेपाली फोनेक्स, अङ्ग्रेजी फोनेक्स, अभिभावक अभिमुखीकरण सेमिनार, व्यवहार व्यवस्थापन कार्यशाला, प्रारम्भिक बालबिकास देखि कक्षा ३ सम्म कक्षा भित्रको सहयोग तथा आवश्यकता अनुसार कार्यशाला सञ्चालन गरिएको छ । महानगर क्षेत्रका विभिन्न क्लष्टरका १२ वटा विद्यालयमा २०७९ देखि यो कार्यक्रम शैक्षिक सुधार परियोजनाका रूपमा सञ्चालनमा छ ।
सन् २००१ मा स्थापना भएको उक्त संस्थाले देशभर विभिन्न सरकारी तथा निजी विद्यालयसँग सहकार्य गरी शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्दै आइरहेको इसीइसीका अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमीले बताउनुभयो । परियोजनाको समीक्षाका क्रममा उहाँले आइतबार नेतृत्व क्षमता, प्रभावकारी नेतृत्व सिद्धान्तहरू, टिम लिडरको भूमिका, जिम्मेवारी र अधिकार लगायत विषयमा स्पष्ट पार्नु भयो।
कार्यक्रममा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परियोजना सञ्चालन भएको विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो । महानगरको शिक्षा समितिका पदाधिकारीहरूले  शैक्षिक सुधारको प्रारम्भिक चरणमा परियोजना निकै प्रभावकारी देखिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार