गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण प्रसाद धितालले चुमनुब्री पर्यटकीय रुपमा प्रचु्र संभावना भएकाले यसको विकासमा संघ देखी प्रदेश सरकार लाग्नुपर्ने बताउनुभएको छ । चुमनुब्री गाउँपालिकाको १४ औं गाउँसभा तथा हिउँदे अधिवेशनको उद्घाटन गर्दै सभामुख धितालले भन्नुभयो– पर्यटनलाई मुख्य स्रोत बनाउँदै चुमको विकासमा हातेमालो गर्नुपर्छ, मनास्लु हिमाल देखी अहिंसाको क्षेत्र चुम भ्यालीलाई प्रचारप्रसार गरी यहाँको सांस्कृतीक, जैबिक बिबिधतालाई विश्वसामु बेच्न स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो । भौगोलिक रुपमा निकै बिकट भएकाले धेरै काम गर्नु भन्दा पनि थोरै तर जिवनस्तर उकास्ने काम गर्न आग्रह गर्नुभयो । हिजोका दिनहरु स्मरण गर्दै उहाँले चुमनुब्रीले विस्तारै विकासको गती लिएको हुँदा यसलाई आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले पालिकाको समग्र बस्तुस्थितिको अवस्थाबारे जानकारी दिदै भौगोलिक रुपमा बिकट रहेको यो क्षेत्रमा पर्याप्त स्रोत साधनको कमी रहेको उल्लेख गर्नुभयो । उहाँले बिकासको लागी पर्याप्त बजेट संघ र प्रदेशबाट बिनियोजन गरिदिन सभामुखसंग अनुरोध समेत गर्नुभयो ।

मनास्लु संरक्षण परियोजना (एमब्याप) का प्रमखु सन्तोस सेरचनले चुमनुब्रीको विकासमा एमक्याप हातेमालो गरिरहेको बताउनुभयो । अधिवेशनमा बोल्नुहुने वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनीधि, पर्यटन तथा होटल व्यवसायीहरुले चुमनुब्रीको बिकासमा एकजुट हुने प्रतिद्धता व्यक्त गरेका थिए । कार्यक्रम समापनका क्रममा पालिका अध्यक्ष निमा लामाले भौगोलिक बिकटताका बिचमा पनि विकासका धेरै प्रयासहरु भएको बताउनुभयो । धेरै योजनाहरु अघि बढेका छन् र केही योजनाहरु संघ तथा प्रदेश सरकारसँग माग गरिएको उहाँले बताउनुभयो । दुई दिन सम्म चल्ने अधिवेशनमा स्वागत मन्तब्य उपाध्यक्ष लक्ष्मी गुरुङले गर्नुभएको थियो भने कार्यक्रम संचालन प्रशासन शाखा प्रमुख गणेश भक्त त्रिपाठीले गर्नुभएको थियो ।



