गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले मूलुकमा संघियता कार्यान्वयन भइसक्दा पनि शिक्षा क्षेत्रमा भने संघियता अझै नआएको बताएकी छन् । गण्डकी प्रदेश शिक्षा निर्देशनालयद्धारा आयोजित ‘म विद्यार्थी र विद्यार्थी मेरा लागि’ भन्ने मूल नाराका साथ प्रदेश भित्रका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र स्थानीय तहका शिक्षा शाखा प्रमुखका लागि अभिमुखिकरण कार्यक्रमको उद्घाट्न गर्दै मन्त्री सिम्खडाले तीन तहकै सरकारलाई मिलाएर नयाँ शिक्षा नीति कार्यान्वयनमा जोड दिनुपर्ने बताएकी हुन् । १२ कक्षा पास गरेपछि स्नातक तह पढ्ने विद्यार्थीको संख्यामा गिरावट आएको र पासवर्ड बोकेर एयरपोर्ट धाउने दक्ष युवालाई रोक्ने शिक्षा नीति नै अहिलेको आवश्यकता रहेको उनले बताइन् । ‘परम्परातगत शैलीमा नै चल्ने हो भने अवको केही वर्षभित्र जे पनि हुन सक्छ’ उनले भनिन, ‘संघिय शिक्षा ऐन नआउदा पनि प्रदेशले बाटो पाएको छैन् । शिक्षा सम्बन्धि ६ वटा विधेयक ड्राफ्ट छन् । तर, संघिय शिक्षा ऐन नआउदा हामीले पनि शिक्षा ऐन ल्याउन पाएनौ ।’ प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनको धारण थियो । ‘अहिलेको शिक्षा कति वैज्ञानिक छ यसतर्फ बहस चलाउनुपर्ने समय भयो’ उनले थपिन् । प्रदेश शिक्षा विकास निर्देशक अम्बिकाप्रसाद आचार्यले प्रदेश शिक्षा नीति, २०७८ र राष्ट्रिय शिक्षा नीति, २०७६अनुसार प्रदेश सरकारले काम गर्दै आएको बताए । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश शिक्षा क्षेत्रमा अगाडि रहेको दावी गर्दै निर्देशक आचार्यले गणित, विज्ञान र अंग्रेजीका विषयगत शिक्षकको संख्या कमी रहेको बताए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले गुणस्तरीय शिक्षाको अभावकै कारण उच्च शिक्षामा अध्ययनरत विद्यार्थीको संख्या घट्दै गएको बताए । सीटीईभीटी गण्डकी प्रदेशका प्रमुख दामोदर देवकोटाले पनि प्राविधिक शिक्षामा जोड दिए ।
तस्वीर : प्रतिक्षा काफ्ले

















