नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । सन्दीपले एक करोडको चेक लिएको पाइएको स्रोतले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग रकम असुलेको गिरोहबाट आर्थिक लाभ लिएको पाइएपछि तत्कालीन गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । राईका छोरा निरजविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । निरज फरार छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ १२ चैतमै पक्राउ परेका थिए ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै रकम असुल्ने कार्यमा पूर्व गृहमन्त्री एवम् एमाले उपाध्यक्ष बादल र एमाले सचिव रायमाझीसँग निकट सम्बन्ध भएका व्यक्तिहरु संलग्न भएको विषयमा प्रतिनिधि सभाको बैठकमै कुरा उठेको थियो । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधि सभा बैठकमा कुरा उठाउँदै छानबिनको माग गरेका थिए । त्यसप्रति एमाले प्रमुख सचेतक पदम गिरीले नियमापत्ती जनाएका थिए ।
-onlinekhabar