पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगत रहेको व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजना तथा पोखरा महानगरपालिका वडा नं.५ को समन्वयमा वित्तीय साक्षरता तथा व्यवसायीक योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम व्यवसाय सञ्चालनका लागि सफल व्यवसायीक योजना कसरी निर्माण गर्न सकिन्छ भन्नेमा केन्द्रित भएको आयोजक केन्द्रका प्रमुख नवराज अधिकारीले बताउनुभयो । कुनै पनि नयाँ व्यवसाय सञ्चालनको मानसिकता बनाइरहेका जो कोहीका लागि पनि उपयुक्त व्यवसायीक योजना आवश्यक पर्ने बताउँदै उहाँले यस प्रकारका कार्यक्रमहरूले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विष्णु प्रसाद बरालले बैङ्किङ कारोबार समेत प्रविधियुक्त बन्दै गइरहेका बेला वित्तीय साक्षरता सम्बन्धी ज्ञान आवश्यक रहेको बताउनुभयो । आफ्नो वडामा यस प्रकारको कार्यक्रम गरी वडाका नागरिकहरूलाई वित्तीय साक्षरता सम्बन्धी सुसूचित गर्ने अवसर प्रदान गरेकामा उहाँले आयोजकलाई धन्यवाद समेत दिनुभयो । व्यवस्थापनका लागि उचित ज्ञानको अभावका कारण कयौँ व्यवसायहरू सञ्चालनमा कठिनाइ भोगिरहेकाहरूको व्यवसायीक योजना निर्माणको तौरतरिकाहरू सिकाइनु महत्त्वपूर्ण रहेको अध्यक्ष बरालले बताउनुभयो ।
कार्यक्रममा ५० जना बढीको सहभागिता रहेको थियो । लेखापरिक्षक टिकाराम सापकोटा र अर्थशास्त्री हुमनाथ ग्रैरेले व्यवसायीक योजना निर्माण र वित्तीय साक्षरता सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको कार्यक्रममा अध्यक्षता महानगरको उद्योग तथा सहकारी शाखाका प्रमुख भरत राज पौडेलले र सञ्चालन विपिसीका प्रमुख अधिकारीले गर्नुभएको थियो ।
सो अवसरमा वसन्तराज गौतमको संयोजकत्वमा १५ सदस्यीय वडा स्तरीय व्यवसाय प्रवर्द्धन समिति गठन समेत गरिएको छ । केन्द्रले पछिल्लो समय शेयर बजार, वित्तीय साक्षरता, रोजगारी प्रवर्द्धन र व्यवसायीक योजना निर्माण लगायतका विषयमा नियमित कार्यक्रमहरू गरिरहेको छ ।



