बुधबार सम्पन्न ढोरपाटन नगर कार्यपालिकाको निर्वाचन परिणामसंगै नेकपा एमालेबाट निर्वाचित मेयर देव कुमार नेपाली अल्पमतमा परेका छन् । कार्यपालिका निर्वाचनमा एमाले र जनमोर्चाको विद्रोही समुह भनिएको टिमले पराजय भोगेसंगै मेयर नेपाली अल्पमतमा परेका हुन् ।
१९ सदस्यीय रहने कार्यपालिकामा बुधबारको निर्वाचन परिणामसंगै मेयर नेपालीको पक्षमा उनि सहित ६ जना र गठबन्धनका तर्फबाट १३ जनाले प्रतिनिधित्व गर्नेछन् । जसका कारण कार्यपालिकाको निर्णय प्रक्रियामा अल्पमतमा परेपछि मेयर नेपालीलाई कठिन हुने निश्चित छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा ३ मा कार्यपालिकाको बैठकको निर्णय सर्वसम्मतिबाट हुनेछ भनिए पनि दफा ४ मा भने उपदफा ३ बमोजिम हुन नसकेमा कार्यपालिकामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत सदस्यबाट गरेको निर्णय कार्यपालिकाको निर्णय हुनेछ, भनिएको छ ।
यस हिषावले पनि नगरकार्यपालिकामा सर्वसम्मति निर्णय हुन नसकि मत विभाजनको अवस्था आए गठबन्धनका बहुमत सदस्यका कारण मेयर नेपालीलाई निर्णय गर्न सकस पर्नेछ । बुधबार भएको निर्वाचनमा दलित वा अल्पसंख्यकबाट खुल्ला पदमा नेपाली काँग्रेसका नविन शेरचन, राजमोका कुल बहादुर छन्त्याल र माओवादी केन्द्रका दिलिप विश्वकर्मा विजयी भएका छन् ।
यस्तै महिला सदस्यमा नेपाली काँग्रेसकी तुलसरी विक, निम कुमारी भण्डारी, राजमोकी बिमला महत र खगिसरा कायत र माओवादी केन्द्रकी इन्द्रकुमारी शिर्पाली विजयी भएका छन् ।




