बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ ।

दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नं. १, २ र ३ मा मतदान स्थगित भएको छ । कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो ।

निर्वाचन अधिकृत वशिष्ट घिमिरेका अनुसार वडा नम्बर १ र ३ मा मतदान सुरु भएपछि स्थगित गरिएको हो । २ मा भने मतदान नै सुरु हुन सकेन । स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

गैरीमुदी, जनज्योती मावि र कालिढुंगा मावि मतदान केन्द्रमा बिहानैदेखि तनावपूर्ण रहेको छ ।

त्यहाँ थप सुरक्षाकर्मी झिकाइएको र समस्या समाधानका लागि छलफलको प्रयास भइरहेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए ।

आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार