‘जमिन कस्को जोत्नेको, घर कस्को बस्नेको’ ‘मेयर उपमेयर कहाँ छन् ? सुकुम्बासी यहाँ छन्’ लगायतका प्लेकार्डहरु सहित सयौँको संख्यामा पोखरा महानगरपालिका घेर्न पुगेका भुमिहिन सुकुम्बासीहरुले तत्काल आफुहरुको बस्ने बास र रोजिरोटीको सुनिश्चितताको माग गरेका छन् ।
राज्यका तर्फबाट आफुहरु माथी वर्गिय विभेद गरिएको उनिहरुको बुझाई छ । संविधानमा व्यवस्था गरिएको मौलिक हकको अतिक्रमण गरिएको र त्यसबाट समेत आफुहरुलाई विभिन्न वाहानामा बञ्चित गरिएको उनिहरुको गुनासो छ । चर्को घाम र तातो सडकमा काखे बच्चा च्याँपेर आन्दोलनमा होमिएका भुमिहिन सुकुम्बासीहरुले मौलिक हकको सुनिश्चितता गर्न राज्यसंग चेतावनीसहित आग्रह गरेका छन् ।

आफुहरुलाई सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका समर्थक बताउने ति भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले राजनीतिक रुपमा विभेद गरिएको, पोखरा महानगरपालिकाले अटेर गरेको र दैनिक जिविका चलाउन समेत कठिन भैरहेको बताउँदै तत्काल आफ्ना समस्याहरुको सुनुवाई नभए कडा प्रतिरोध पुर्ण आन्दोलन गर्ने चेतावनी पनि दिए ।
तर, राष्ट्रिय भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले भने स्थानिय पालिकाहरुले केन्द्रिय आयोगसंग सम्झौता नगरिदिएपछि समस्या परेको बताएका छन् । स्थानिय पालिकामा रहेका भुमिहिन दलित तथा सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने लगायतका प्ररारम्भीक चरणका कामहरु स्वयम पालिका र वडाले गर्नुपर्ने कार्यविधि अनुसार केन्द्रिय आयोगसंग गर्नुपर्ने सम्झौतामा पोखरा महानगरपालिका लगायतका कतिपय पालिकाहरुले विलम्ब गरेपछि काम गर्न समस्या परेको अध्यक्ष पोखरेलले बताए ।
पोखरा महानरपालिका कार्यालयलाई सो सम्झौता तत्काल गरि आवश्यक प्रक्रिया अगाडी बढाउन दवाव दिने उद्देश्यले घेराउ तथा विरोध कार्यक्रम गरिएको सहभागीहरुले बताएका छन् ।



