नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितको पार्टी नेतृत्व पोखरा आउने भएको छ । पोखरा सभागृहमा यही चैत ६ गते आइतबार हुने पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड लगायतका शिर्ष नेताहरु पोखरा आउने भएका हुन् ।
पार्टी स्रोतका अनुसार प्रचण्डको साथमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश), देव गुरुङ, देवेन्द्र पौडेल, दिननाथ शर्मा लगायतको नेतृत्व पोखरामा आउने माओवादी गण्डकीका अध्यक्ष गायत्री गुरुङले जानकारी दिईन । उनका अनुसार प्रशिक्षण कार्यक्रमको सबै तयारी पूरा भएको छ ।
अध्यक्ष गुरुङका अनुसार प्रशिक्षणमा गण्डकी प्रदेश कार्यक्षेत्र हुने पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय सल्लाहाकार, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, जनवर्गिय संगठन मोर्चाका केन्द्रीय पदाधिकारी, प्रदेश समितिका सदस्य र प्रदेश सल्लाहाकारहरु सहभागी हुनेछन् ।
यसैगरी प्रदेश ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, गण्डकी प्रदेश अधिवेशन आयोजक समितिका सदस्य, गण्डकीका सम्पर्क समन्वय विशेष सदस्य, जवस मोर्चाका प्रदेश अध्यक्ष, संयोजक र सहसंयोजक, नेकपा हुँदाका जिल्ला सदस्य र महानगर समितिका सदस्यहरु, नगर, गाउँ समितिका पदाधिकारीहरु, जिल्ला समन्वय समितिमा निर्वाचित प्रतिनिधिहरु, नगर गाउँपालिकाका प्रमुख, अध्यक्ष र उपाध्यक्षहरु, पोखरा महानगर समितिको हकमा महानगर समितिका सबै सदस्यहरु, महानगर वडाका पदाधिकारीहरु र कास्कीका सबै गाउँपालिका समितिका सदस्यहरु सहभागी गरी २ हजार ५०० नेता तथा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने माओवादीले जनाएको छ ।
प्रशिक्षणको तयारीका लागि प्रचार–प्रसार, हल व्यवस्थापन, अतिथि सत्कार, मिडिया व्यवस्थापन, स्वास्थ्य, खाजा र खाना लगायतका विभिन्न उपसमितिहरु गठन गरिएको अध्यक्ष गुरुङले जानकारी दिईन । माओवादी केन्द्रले प्रशिक्षण लगत्तै गण्डकीका ११ वटै जिल्लामा स्थानीय निर्वाचन केन्द्रित पार्टी गतिविधि अघि बढाउने योजना बनाएको छ ।
अध्यक्ष गुरुङले भनिन्,“संघीयताको जन्मदाता र यसको प्राप्तिको आन्दोलनको अगुवाई गरेको शक्तिका हिसाबले माओवादीको विजयले मात्र प्राप्त उपलव्धिहरु संस्थागत हुन सक्छन् । प्रदेशका ११ वटै जिल्लाका सबै पालिकामा पार्टीलाई एक ढिक्का बनाएर जनताको बीचमा जान्छौँ ।”
पछिल्लो पटक नेतृत्वको कमजोरीका कारण पार्टीका नेता तथा कार्यकर्ताहरुमा चर्को असन्तुष्टि देखिएका बेला आयोजना गरिएको प्रशिक्षण कार्यक्रमले पार्टी निर्माणमा थप योगदान पुग्ने विश्वासहरु गरिएका छन् ।




