आज ७२ औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदैछ । विक्रम संवत २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । अब यी उपलब्धिलाई संस्थागत गरेर अघि बढ्न जरुरी रहेको उनले बताएका छन् ।
दिवसका अवसरमा सभामुख सहित प्रमुख दलका शिर्ष नेताहरुले पनि शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार