सरकारले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)लाई थप दुई वर्षको समय दिने भएको छ । उत्पादित विद्युत बेच्न पावर सेल्स एग्रिमेन्ट (पीएसए)का लागि ६ महिना र वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर)का लागि १८ महिना समय दिन लागिएको हो ।
गत २३ असोजमा लगानी बोर्डले माथिल्लो कर्णालीमा जीएमआरसँगको सम्झौता थप गर्ने वा नगर्ने विषयमा सुझाव दिन बनाएको उच्चस्तरीय समितिले थप २४ महिना समय दिन सिफारिस गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा गठन भएको समितिको सिफारिससहितको प्रतवेदन अब बोर्ड बैठकले पास गरेपछि जीएमआरले थप दुई वर्षभित्र आयोजना बनाउन लगानी जुटाइसक्नुपर्ने छ ।




