चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिनामै वस्तु आयातको आंकडा १० खर्ब नजिकै पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–पुससम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यो गत आव २०७७–७८ को यसै अवधिको तुलनामा ५१.१३ प्रतिशत धेरै हो । सो वर्ष ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । पुस महिनामा मात्र १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
६ महिनामा निर्यात भने १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको भएको छ । निर्यातको वृद्धिदर ९५.४८ प्रतिशत छ । बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटा चुलिएको छ । आंकडा अनुसार ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६.६४ प्रतिशत धेरै हो ।




