कोरोना भाइरसको संक्रमण बढेपछि कास्कीमा मंगलबारदेखी रात्रिकालिन व्यवसाय संचालनमा स्थानिय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा सिनेमाहल, पार्टी प्यालेस, डान्सबार, दोहोरी साँझ, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्विमिङ् पुल लगायतका व्यवसायहरु संचालनमा रोक लगाईएको हो ।
फुटसल, पटके पसल, स्पा सेन्टर, ब्युटिपार्लर लगायत शैक्षिक गतिविधि हुने कुनैपनि विद्यालय, विश्वविद्यालय, ट्युशन सेन्टर लगायत बन्द गर्ने आदेशमा भनिएको छ । साथै माघ महिनाको मसान्त सम्म कुनैपनि सभासमारोह, धर्ना जुलुस र भेलाहरु गर्न प्रतिबन्ध लगाईएको छ ।
सार्वजनिक निकायमा सेवाका लागि खोपकार्डको अनिवार्य व्यवस्था गरिएको छ भने, बजार पसल तथा डिपार्टमेन्टल स्टोर लगायतमा २५ जना भन्दा बढि जम्मा नहुनु भनिएको छ । विवाह, ब्रतबन्ध लगायतका सामाजिक कार्यमा २५ जनासम्म सहभागी हुने र रंगशाला प्रवेशका लागि अनिवार्य खोप कार्य भनिएको छ ।
सार्वजनिक सवारीमा क्षमता भन्दा बढि यात्रु नराख्ने र माक्स तथा स्यानिटाईजरको अनिवार्य प्रयोग गर्न आदेशमा भनिएको छ । बैक तथा वित्तिय संस्थाहरुलाई विद्युतिय भुक्तानीमा जोड दिईएको छ । होटल तथा रेष्टुरेन्टहरुको हकमा स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्ने आदेशमा जनाईएको छ ।




