विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ ।
सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ ।

यो वर्ष सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्नेछ । यसको ११ प्रतिशतको वृद्धि प्राप्त हुने छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८.३ प्रतिशतको वृद्धिदर भेटाउने छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेका माल्दिम्भ र भुटानले राम्रो लय समात्दा नेपाल भने अलमलमै रहेको छ । यसको असर अर्थतन्त्रमा देखिएको छ । भुटानले ५.१ प्रतिशतको वृद्धिदर भेटाउने देखिएको छ ।
विश्व बैंकले यो सूचीमा अफगानिस्तानलाई राखेको छैन । तीव्र राजनीतिक अस्थिरताका बीच यो मुलुकको प्रक्षेपण हुन नसकेको बताइएको छ । नेपालले आगामी वर्ष भने ४.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ ।



