आजदेखि पोखरामा ‘सडक महोत्सव’ सुरु भएको छ । ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रबद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा लेकसाइड स्थित फेवाताल किनारमा २३ औँ संस्करणको सडक महोत्सव सुरु भएको हो । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजित महोत्सव पुस १७ गतेसम्म चल्नेछ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी पोखरालाई गन्तव्यस्थलको रुपमा प्रबद्र्धन गर्ने उद्देश्यले रेवानले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सव लोकसाईडस्थित कोमागाने पार्कदेखि हल्लनचोक सम्मको ३ किलोमिटर क्षेत्रमा भैरहेको छ । महोत्सवमा ३० भन्दा बढी हस्तकलाका स्टल रहेका छन् ।
महोत्सवमा कोमागाने पार्कभित्र हुने कार्यक्रमका लागि दिउँसोको लागि ५० रुपैयाँ र बेलुका कन्सर्टको लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको आयोजकले जनाएको छ । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै मौलिक भेषभूषा समेत प्रदर्शन गरिने रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) का अध्यक्ष लक्ष्मण बरालले जनाकारी दिए ।
कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै महोत्सव आयोजना गरिएको आयोजक पक्षले बताएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, डुंगा दौडजस्ता प्रतियोगिता समावेश गरिएको संयोजक नरेश भट्टराईले जानकारी दिए ।
पोखरामा वर्षेनी आयोजना हुँदै आएको पोखरा सडक महोत्सवले छुट्टै इतिहास बनाएको छ । दुई दशक भन्दा बढी समयदेखि पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउँदै आएको आयोजकको दावी छ । महोत्सवलाई रेवान पोखराले देशको विभिन्न राजनैतिक अस्थिरता, २०७२ सालको महाभूकम्प, भारतीय नाकाबन्दी जस्ता समस्या भएका बेलासमेत निरन्तरता दिँदै आएको छ ।
यसैबीच, स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै महोत्सव अवलोकनका लागि पुग्ने दर्शकहरुका लागि बिहीबार र शुक्रबार कोभिड विरुद्धको जोनसन एण्ड जोनसनको खोप समेत उपलब्ध गराइने रेवानका अध्यक्ष बरालले बताए । जिल्ला प्रशासन कार्यलय कास्की र पोखरा महानगरसँगको समन्वयमा महोत्सवमा आउनेलाई निशुल्क खोप लगाउने व्यवस्था गरेको हो ।
कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै, पोखरा खुल्लै छ भन्ने सकरात्मक सूचना प्रवाह गरि पर्यटन प्रवद्र्धन गर्न र अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा पोखरालाई चिनाउने उद्देश्यले सडक महोत्सव आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार