पोखरामा निर्माणाधिन अन्तराष्टिय विमानस्थल संचालनका लागि लेखनाथ स्थित रिठ्ठेपानीको डाँडा बाधक बनेको छ । विमानस्थल निर्माणको करिब ८४ प्रतिशत काम सकिदा पनि डाँडा काटान गर्ने कामले गति लिन सकिरहेको छैन् । विमानस्थल आयोजनाका अनुसार यो डाँडा विमानस्थल संचालनका लागि मुख्य समस्याका रुपमा देखिएको छ ।
यस्तै विमानस्थल हातामा आयलनिगमको डिपो समेत राख्नुपर्ने आवश्यकता देखिएको छ । विमानहरुका लागि आवश्यक इन्धनको सहज उपलब्धताका लागि विमानस्थल हाता मै आयल निगमको डिपो निर्माण गर्न सकिए त्यसले थप सहजता मिल्ने आयोजनाको भनाईछ ।
विमानस्थलमा चराचुरुंगीहरुको आउजाउ रोक्नका लागि हाल संचालनमा रहेको पोखरा महानगरपालिकाको फोहोरव्यवस्थापन गर्ने स्थान ल्याण्डफिल्ड साईडको स्थानान्तरण जरुरी छ । तर, सम्बन्धित निकायलाई बारम्बार ताकेता गरेपनि हालसम्म ल्याण्ड फिल्ड साइड स्थानान्तरणको तयारी समेत भएको पाईएको छैन् । चराहरुको बासस्थान परिवर्तनका लागि समेत समय लाग्ने भएकाले त्यस तर्फ ध्यानदिन आयोजनाले सम्बधित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
र, विमानस्थल वरिपरि वर्षाका कारण भलपानीको फ्लो बढि हुने भएकाले त्यसको व्यवस्थापन समेत गर्नु पर्ने देखिएको आयोजनाले जनाएको छ । सिंचाईका नहरहरुको समेत उचित व्यवस्थापन नहुदाँ विमानस्थलको पुर्वोत्तर क्षेत्रमा कटान भैरहेकाले थप चिन्ताहरु थपिएका आयोजनाले जनाएको छ ।
यसरी पोखरामा निर्माण गरिएको गौरवको आयोजनाका पछाडी देखिएका समस्याहरु समाधानमा गम्भिर बन्न नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारहरुलाई समेत आह्वान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार