आफ्ना पाँच जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छेले बाजी मारेका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको मतदान र आइतबार सवरै सम्पन्न मतगणनामा आफ्ना प्रत्यासीहरुलाई पछि पार्दै बिजुक्क्षे विजयी भएका हुन् ।
उनले गंगाधर पराजुली, रामराज लामिछाने, मोहन प्रसाद बास्तोला, मिलन तिवारी र ज्योति हमाललाई पछाडी पारेका हुन् । विजयी बिजुक्क्षेले ४१४ मत प्राप्त गरे भने उनलाई पछ्याईरहेका पराजुलीले भने ३४६ मत प्राप्त गरेका छन् । बिजुक्क्षेले पराजुलीलाई ६८ मतले पछाडी पारे ।
यस्तै सभापतिका प्रत्यासीहरु रामराज लामिछानेले २०९, मिलन तिवारीले १५३, मोहन बास्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरे । यसैगरी उपसभापतिमा ५६९ मत सहित प्रयागराज भण्डारी र ४६४ मत सहित भवसागर बराल निर्वाचित भएका छन् ।
यस्तै सचिवमा टुवराज बाँस्तोला ८५८ र गणेशबहादुर थापा ७८४ मतका साथ विजयी भए भने सहसचिवमा संघर्ष कोइराला ५८० र सञ्जय आलेले ५६५ मत प्राप्त गरि विजयी भएका छन् ।




