१२ औं राष्ट्रिय जनगणना आजबाट शुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्नेछन् ।
केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंका अनुसार सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ । गत २७ र २८ भदौमा तालिम पाएका ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ ।
असोज १८ पछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ । गणकहरुको तालिमपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने र विवरण भर्ने काम गर्नेछन् । यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ ।
नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको तथ्यांक विभागको अनुमान छ ।




