कक्षा १२ को परीक्षा आजदेखी शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । परीक्षा बिहान ११ बजे शुरु भएको हो । यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको थियो ।
यो वर्ष पौने चार लाख विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालनको तयारी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णाङकै लिने भएको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णाङकै गराउने तयारी गरेको बोर्डले जनाएको छ ।
बोर्डले गतवर्ष समय र अंकभार घटाएर ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।
बोर्डले कोभिड १९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ । नियमित परीक्षा सकिएपछि संक्रमित विद्यार्थीको लागि अर्को सूचना जारी गरिने परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।




