गण्डकी सरकारका बिना बिभागीय मन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका कुमार खड्काले साउन महिना भित्र गण्डकी प्रदेशका जनतालाई कोरोना खोप उपलब्ध गराउनेबारे टुंगो लाग्ने बताएका छन् । करिब २ अर्व जति कोरोनाको लागी बजेट छुट्याएको र त्यसबाटै खोप किन्ने उनले दाबी गरे । पहिले केन्द्र सरकारलाई आग्रह गर्ने, केन्द्रले दियो भने समस्या हल भयो । यदी केन्द्रले पैसा छैन भन्यो भने पैसा प्रदेशले दिन्छ यदी त्यो पनि भएन भने कानुनी जटिलता फुकाएर सिधै प्रदेश सरकारले खोप किनेर भएपनि नागरिकलाई प्रदान गर्ने उनले बताए । कुराकानीकै क्रममा प्रवक्ता खड्काले बिना बिभागिय मन्त्रीहरुको जिम्मेवारीमा सहमति जुटेको खुलासा गरेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) ले अर्थ मन्त्रालयमा दावि छोडेपछि सहमतीको खाका बनेको बताए । अझै पनि भौतिक मन्त्रालय नेकपा माओवादी केन्द्रले र नेपाली काँग्रेसले दाबी गरेकोले त्यसको टुंगो लागिसकेको छैन । प्रवक्ता खड्काका अनुसार अहिले सपथ लिएका मन्त्रीहरुलाई बजेट पास नहुँदा सम्मका लागी कुनै एक मन्त्रालयको जिम्मेवारी दिईएको छ । सामाजिक बिकास मन्त्रालयको नेतृत्व स्वयं खड्काले गर्ने छन् भने माओवादी केन्द्रकी मधुमाया अधिकारीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईने भएको छ ।
सुरुवात देखीनै भौतिक मन्त्रालय रोजेका राजिव गुरुङलाई भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको प्रवक्ता खड्काले बताए । नेपाली काँग्रेस संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसंग सुटुक्क सम्झौता गरी अर्थमन्त्रालय दाबि गरेको जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यलाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको उनले स्पष्ट पारे । हाललाई अर्थ तथा भौतिक मन्त्रालय मुख्यमन्त्रीकै मातहातमा रहने गरी सहमती भएको र सहमतीको खाका प्रदेश प्रमुखलाई दिएकाले संभवत आईतबार यसबारे थप प्रष्ट हुने उनले बताए ।
उता बिना बिभागिय मन्त्री मधु अधिकारीले आफूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रदान गरिएकोबारे थाहा नभएको बताईन । उनले भनिन्–आधिकारीक जानकारी आएको छैन यसबारे म अनबिज्ञ छु’ । त्यस्तै जसपा नेता तथा मन्त्री हरिशरण आचार्यले आफूलाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको स्पष्ट पारेका छन् । आफूहरुले सरकार निर्माणमा समस्या नहोस् भन्नका लागी सम्झौताको अर्थ मन्त्रालय पनि छोडेको बताउँदै आचार्यले तत्कालको लागी कार्यसम्पादन सहज बनाउन जिम्मेवारी बाँड्ने काम भएको बताए ।




