प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दलका नेता कृष्णचन्द्र नेपालीले सरकारको बजेट झुटको पुलिन्डा र चुनाव प्रचारको माध्यमका रुपमा आएको आरोप लगाएका छन् । पोखरा सभागृहमा सुरु गण्डकी प्रदेशसभाको बजेट अधिवेशनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
काम चलाउ सरकारले पुरक बजेटका रुपमा सानो आकारको ल्याउनु पर्नेमा उधारोको रुपमा आएको यस बजेट कुनै हालतमा कार्यान्वयन नहुने उनले दावी गरे । जनतालाई भ्रममा पार्ने एक दस्ताबेजका रुपमा बजेट आएको नेपालीले आरोपित गरे । सरकारको बजेट संघियता विरोधी भएको उनले टिप्पणी गरे ।
सरकारको अस्वाभाविक गतिविधिका कारण लोकतन्त्र खतरामा परेको उनले बताए । राजनीतिक सौदाबाजी र सत्ताका लागि जस्तोसुकै कदम चाल्न तयार हुने प्रधानमन्त्री अधिनायकवादको बाटोमा अगाडी बढेको नेपालीले टिप्पणी गरे ।




