कास्कीमा विगत ११ दिनदेखी जारी निषेधाज्ञाको कार्यान्वयनमा स्थानिय प्रशासनले आजदेखी थप कडाई गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका खातिर जारी गरिएको निषेधाज्ञाको कार्यान्वयनका सन्दर्भमा थप अनुसासनको पालना गर्न नागरिकहरुलाई आह्वान गरिएको अधिकारीहरुले बताएका छन् ।
यसअवधिमा कुनैपनि प्रकारको सभासम्मेलन, गोष्ठी, तालिम, सेमिनार, जुलुस, जात्रा, महोत्सव लगायत मानिसहरु भेला हुने र भीडभाड गर्ने गतिविधिहरु नगर्न नगराउन प्रशसनले अनुरोध गरेको छ । अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधन संचालनमा रोक लगाईएको छ ।
धार्मिक स्थलहरु समेत जनस्वास्थ्यका मापदण्डको पालना गरि नित्य पूजा, ध्यान, प्रार्थनामात्र गर्न अपिल गरेको छ । यस्तै शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नाचघर, क्लव, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, जिमखाना, स्वीमिङपुल, व्युटीपार्लर, शैलुन, सुनचाँदी, टेलरिङ लगायतका व्यवसायहरु पुर्ण रुपमा बन्द रहनेछन् ।
तर, निषेधाज्ञाको समयमा एम्बुलेन्स, बिरामी तथा बिरामी कुरुवा बोक्ने सवारी, दमकल, शववहान, खाद्यसामाग्री, तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पेट्रोेलियम पदार्थ बोकेका सवारी, औषधी तथा स्वास्थ्य सेवाका सामाग्रीका साधन लगायतलाई संचालनको अनुमती दिईनेछ ।
निषेधाज्ञा जेठ १ गते देखी जेठ ७ गते राती १२ गतेसम्म लागू हुनेछ ।




