अन्यौलका बीच गण्डकी प्रदेश सभाको बैठक आगामी २७ गते बस्ने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैैशाख २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण पुष्टि भएका सांसदहरुलाई प्रदेश सभामा बस्ने छुट्टै स्थानको व्यवस्था गरिने निर्णय समेत कार्यव्यवस्था समितिले निर्णय गरेको समितिका सदस्य कुमार खड्काले जनाए । कोरोना संक्रमण देखिएका सांसदहरु बोल्न नपाउने तर, मतदानमा भने भाग लिन पाउने निर्णय भएको सांसद खडकाले बताए ।
प्रदेश सभामा २ वैशाखमा दर्ता भएको अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाही बेपत्ता भएको भन्दै बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेश सभा बस्न सकेको थिएन ।




