नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी योजनाबारे छलफल हुने सचिव ढकालले जनाए । सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग गर्दै माओवादी केन्द्र व्युँताइदिएपछि अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा छन् ।
तर, नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिएको छैन् । समर्थन फिर्ता नलिँदा नयाँ सरकार बन्न नसकेको भनेर प्रतिपक्षी दलका नेताहरुले माओवादीको आलोचना गर्दै आएका छन् ।




